नेपालले आज सामाओसँग खेल्दै, उपाधि जितेका प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने

MMI संवादाता- ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्स अन्तर्गत नेपालले आज अन्तिम खेल सामाओसँग खेल्दैछ। खेल ओमानको अल अमेरत क्रिकेट स्टेडियममा दिउँसो ४:१५ बजे सुरु हुनेछ। यसअघि नै विश्वकपको लागि छनोट भइसकेको नेपाल आजको खेल जिते उपाधि हात पार्दै आइसिसीको प्रतियोगितामा पहिलो पटक च्याम्पियन बन्नेछ। उपाधि जितेमा सरकारी पुरस्कार ऐनअनुसार हरेक खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। यसअघि नेपालले वेस्टइन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेकोमा पनि प्रत्येक खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ।

नेपाल यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। सुपर सिक्स चरणमा नेपालले युएईलाई १ रन, कतारलाई ५ रन र ओमानलाई ३८ रनले पराजित गरेको थियो। नेपालले यसअघि सन् २०१० मा आइसिसीको लिग डिभिजन ५ को उपाधि जितेको थियो। अर्कोतर्फ, सामाओले सुपर सिक्सको तीनै खेलमा पराजय भोगेको छ र उपाधि दौडबाट बाहिरिसकेको छ। आजको खेल नेपालका लागि इतिहास रच्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया