जेन जी आन्दोलन क्रान्ति कि विद्रोह ?

सत्ताको मदमस्ती र बेहोशी

देशमा भयङ्कर सत्तामोह र बेहोशी यति कडा पुगेको थियो कि सत्ताधारीहरूले यथार्थ बुझ्ने चेत नै हराए। उनीहरू सोच्थे — “सय–डेढ सय जना मार्यौं भने शासन स्थिर हुन्छ।” यस्तै घमण्ड र आत्ममुग्धताले शासनको विवेकलाई नष्ट गरिदियो। यही सत्ताको मदमस्ती नै अन्ततः आफैँमाथि बन्चरो झार्ने कारण बन्यो।

विद्रोह र क्रान्तिको भिन्नता

जेन जी आन्दोलनको मूल स्वरूप बुझ्न आवश्यक कुरा हो — यो क्रान्ति होइन, विद्रोह हो। क्रान्तिले तत्काल परिवर्तन ल्याउँछ, जब कि विद्रोहले मात्र असन्तुष्टि प्रकट गर्छ। जस्तै, २००७ सालको जनक्रान्तिले राणा शासनलाई समाप्त गर्‍यो, नयाँ कानुन ल्यायो, राणाका सम्पत्ति जफत गर्‍यो, सिंहदरबार राज्यसत्ताको प्रतीक बन्यो — यो थियो पूर्ण क्रान्ति। तर अन्य धेरै आन्दोलनहरू ९२०५२–२०६२ सालसहित० विद्रोहका रूपमा भए, जसले व्यवस्था हल्लाए तर सम्पूर्ण आर्थिक र संरचनात्मक परिवर्तन गर्न सकेनन्। २०६२/६३ सालको आन्दोलनले भने राजतन्त्र अन्त्य गर्‍यो र नयाँ संविधान जन्मायो — त्यसलाई क्रान्ति भन्न सकिन्छ। त्यसबाहेकका आन्दोलनहरू, वर्तमानसहित, मूलतः विद्रोहकै रूप हुन्।

अहिलेको विद्रोहका कारणहरू

हालको जेन जी  विद्रोह पनि त्यही असन्तुष्टि र अन्यायको परिणाम हो।

मुख्य दुई कारण छन् —

१️. सामाजिक सञ्जालमा नियन्त्रण र दमन

२️. चरम भ्रष्टाचारको विकराल अवस्था

यदि सत्ताले ती युवाहरूको आवाज सुनेर सञ्जाल खोलिदिएको र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता देखाएको भए, यो विद्रोह यति चाँडो भड्किँदैनथ्यो। तर सत्ताको बेहोशीमा उनीहरूले जनआवाज दबाउने, आन्दोलनमा दमन गर्ने र गोली चलाउने निर्णय गरे। त्यसैले आगोमा घ्यू थप्यो।

विद्रोहपछि अन्तरिम सरकार र जेन्जीको सम्भावना

विद्रोहपछि एउटा अन्तरिम सरकार आयो। अब यही अवसर जेन्जी पुस्ताका लागि ऐतिहासिक परीक्षा हो। यदि उनीहरूले सुझबुझका साथ पार्टी गठन गरेर चुनावमा गए, स्पष्ट एजेन्डा लिएर जनतामाझ पुगे र भ्रष्टाचारविरुद्ध ठोस कदम उठाए भने जनताले उनीहरूलाई विश्वास गर्नेछन्। यदि जेन जीहरूले आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याए भने उनीहरूले संविधानभित्रै रहेर प्रणाली संशोधन गर्न सक्छन् । प्रत्यक्ष राष्ट्रपतिय वा प्रधानमन्त्रीय चुनावको व्यवस्था गर्न सक्छन्प्र । प्रदेश संरचना निर्मूल गर्न सक्छन् र भ्रष्टाचारको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्न सक्छन्। त्यसपछि मात्रै व्यवस्था परिवर्तन सम्भव हुन्छ — जुन क्रान्ति होइन, शान्तिपूर्ण परिवर्तन हुनेछ तर यदि पुराना राजनीतिक दलहरूले पुनः मिलाप गरेर सत्ता समाते भने, स्थिति फेरि जस्ताको तस्तै रहन सक्छ। यद्यपि, जेन्जी पुस्ताले जग हल्लाइसकेकाले उनीहरूको प्रभाव दीर्घकालीन हुनेछ।

आर्मीको संयमित र सकारात्मक भूमिका

यस अवस्थामा सेनाको भूमिका निर्णायक रह्यो। सेनाले चाहे राजालाई पुनःस्थापित गरेर सत्ताको सूत्र आफैँले लिन सक्थ्यो, तर त्यसो गरेन। बरु उसले जनताको पक्षमा उभिँदै देशलाई अस्थिरताबाट जोगायो। सेना भ्रष्ट राजनीतिक खेलबाट टाढा रही राष्ट्रिय जिम्मेवारीमा दृढ रह्यो। त्यसैले अहिलेको स्थायित्वमा सेनाको योगदान अस्वीकार्य छैन।

अन्तिम मोडः जिम्मेवार नागरिकको कर्तव्य

अब देश यस्तो मोडमा छ जहाँ प्रत्येक भोट अमूल्य छ। यस अवस्थामा तटस्थ रहनु भनेको देश, प्रगति र सिद्धान्त सबैसँग विश्वासघात गर्नु हो। त्यसैले नागरिकहरूले प्रतिगामी शक्तिको विपक्षमा र प्रगतिशील, नयाँ पुस्ताको पक्षमा भोट दिनुपर्छ। जेन्जी पुस्ताले ल्याएको चेतना र आन्दोलनलाई संस्थागत गरेर नै देशले नयाँ दिशा पाउनेछ।

निष्कर्षः विद्रोहबाट व्यवस्था परिवर्तनतर्फ

अहिलेको जेन जी आन्दोलन क्रान्ति होइन, विद्रोहको सुवास हो। तर यदि यो विद्रोहले राजनीतिक चेतना र नैतिकता पुनःस्थापित गर्न सफल भयो भने यो भविष्यमा शान्तिपूर्ण व्यवस्था परिवर्तनको पूर्वसंकेत बन्न सक्छ। त्यसैले बुद्धिमानी, एकता र दुरदर्शिताका साथ अघि बढ्नु आजको पुस्ताको जिम्मेवारी हो।

यस लेखका सर्जक आध्यात्मिक गुरु, "पथिक" हुनुहुन्छ !!

प्रतिक्रिया