कलंकीमा न्यूदँया भिंतुना ११४६ भव्य रूपमा सम्पन्न, विज्ञ भन्छन्ः नेपाल संवत केवल पात्रो होइन नेपाली संस्कृतिको आत्मा हो (भिडियो सहित)

मास मिडिया संवादाता— कलंकी मन्दिर परिसरमा कलंकी माँ नेवाः पुचः येँको आयोजनामा न्यूदँया भिंतुना ११४६ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा १००० भन्दा बढी सहभागीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो । बिहानैदेखि मन्दिर परिसरमा दीप प्रज्वलन, लाखे झाँकी, नेवारी बाजा गाजाको साथमा पूजा अर्चना र शुभकामना आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गरिएका थिए। कलंकी मन्दिरबाट सुरु भएको रंगीन रर्यालीले कलंकी चोक, खड्कुले पुल, लिक मार्ग, कुलेश्वर, कालिमाटी चोक, सोल्टी मोड हुँदै रविभवनतर्फ यात्रा गर्दै अन्ततः कृपा भेन्युमा पुगेर “न्यूदँया सभा”का रूपमा परिणत भयो। यो सांस्कृतिक यात्रा साँच्चिकै नेपाल संवतको गौरव र आत्मपहिचानको उत्सव बनेको थियो।  


कार्यक्रमको अध्यक्षता कलंकी माँ नेवाः पुचः येँका अध्यक्ष प्रभाकर महर्जनले गर्नुभएको थियो। उहाँले सबैलाई सम्बोधन गर्दै भन्नुभयो — “तपाइँहरूको उत्साह, माया र सहकार्यले हाम्रो संस्कृति अझ उज्यालो बनेको छ। नेपाल संवत हाम्रो पहिचान हो, यो केवल पात्रो होइन, हाम्रो आत्मा हो। नेपाल संवतले एकता, अस्मिता र साझा गौरवको सन्देश दिन्छ भन्ने स्पष्ट झल्कियो। उहाँले नयाँ पुस्तालाई आफ्ना भाषा र संस्कृति जोगाउने जिम्मेवारी लिन आग्रह गर्नुभयो। अन्त्यमा उहाँले आयोजक, अतिथि र सबै सहभागीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै “हामी सबैले मिलेर नेपाली सभ्यता र संस्कृतिलाई अझै सबल बनाऔँ” भन्ने सन्देश दिनुभयो।  


महासचिव बलराम श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै भन्नुभयो — “नेपाल संवत हाम्रो इतिहासको जीवित प्रमाण हो, जसले हामीलाई एकताको सूत्रमा बाँधेको छ। आज देखाइएको सहभागिता हाम्रो पहिचानको रक्षा गर्ने प्रेरणा हो। संस्कृति जोगाउने काम सरकारको मात्र होइन, हाम्रो सामूहिक दायित्व हो। नेपाल भाषाको प्रयोग बढाउन र नयाँ पुस्तामा यसको महत्व रोप्न आग्रह गर्दै उहाँले भन्नुभयो, “यस्तो सामूहिक सहभागिता नै हाम्रो समाजको वास्तविक शक्ति हो।”  


कार्यक्रममा नेपाल भाषाको कोडिङ–डिकोडिङका प्रवर्तक प्राध्यापक, डाक्टर, इन्जिनियर भगवानदास मानन्धर र प्रा. दिनेशराज पन्तलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष सुमन श्रेष्ठले नेपाल संवतको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँले नेपाल संवतलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा अगाडि बढाउन सबै तहबाट प्रयास आवश्यक रहेको बताउनुभयो। श्रेष्ठले भन्नुभयो, “नेपाल संवत हाम्रा पुर्खाहरूको समर्पण, त्याग र अस्तित्वको दस्तावेज हो।”  


सम्पूर्ण कार्यक्रम सहभागीहरूको उत्साहले झनै उज्यालो र अर्थपूर्ण बनेको थियो। नेवारी परम्परागत पोशाक, बाजागाजा र नृत्यसहितको र्यालीले सम्पूर्ण क्षेत्रलाई उत्सवमय बनायो। अन्त्यमा आयोजक संस्थाका तर्फबाट सबै सहभागी, स्वयंसेवक र सहयोगीहरूलाई आभार व्यक्त गर्दै नेपाल संवत ११४६ ले सम्पूर्ण नेपाली समुदायमा शान्ति, समृद्धि र साझा एकताको भावना फैलाओस् भन्ने शुभकामना व्यक्त गरियो। न्यूदँया भिंतुना ११४६ केवल एक उत्सव होइन, हाम्रो साझा इतिहास र गौरवको उज्यालो प्रतीक बनेर कलंकीमा सफलतापूर्वक सम्पन्न भयो। #MMI



प्रतिक्रिया