इनिशा विक मृत्यु प्रकरण : दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं : सुर्खेतकी युवती इनिशा विकको मृत्यु प्रकरणमा दोषीलाई कडा कारबाही गर्न माग गर्दै युवाहरूले शनिबार (फागुन ३०) काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसहित युवाको एक समूहले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले हातमा प्लेकार्ड बोकेर ‘महिला तथा दलितमाथिको हिंसा अन्त्य गर’, ‘पीडितलाई न्याय दे’, ‘दोषीलाई कडा कारबाही गर’ जस्ता नारा लगाएका थिए। उनीहरूले राज्यले संवेदनशील रूपमा घटनाको छानबिन गरी पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्। साथै महिला तथा दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनालाई रोक्न सरकार गम्भीर हुनुपर्ने प्रदर्शनकारीको भनाइ थियो।

प्रदर्शनमा सहभागी युवाहरूले इनिशा विकको मृत्यु सामान्य घटना नभई गम्भीर अपराध भएकाले निष्पक्ष अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनीहरूले घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन्। दोषीलाई कारबाही नभए आगामी दिनमा थप कडा आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि गरिएको पोस्टमार्टम रिपोर्टअनुसार उनीमाथि बलात्कार भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको बताइएको छ। उक्त घटनाले देशभर नै आक्रोश र चिन्ता उत्पन्न गरेको छ। घटनापछि विभिन्न स्थानमा न्यायको माग गर्दै आवाज उठ्न थालेको छ। सामाजिक सञ्जालदेखि सडकसम्म युवाहरूले पीडितलाई न्याय दिलाउन माग गरिरहेका छन्। मानवअधिकारकर्मी तथा महिला अधिकारकर्मीहरूले पनि घटनाको गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानका लागि आवश्यक प्रमाण सङ्कलन तथा सम्भावित संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने बताएको छ।

प्रतिक्रिया