MMI संवादाता- साउन १६- गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तिमा अवस्थित मेरिल्याण्ड इङलिस् स्कुलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता प्राप्त गरेका आफ्ना विद्यार्थीहरूलाई सम्मान गर्ने उद्देश्यले विशेष बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। नयाँबस्ति स्थित ड्रिम हाउस व्याङ्क्वेटमा आयोजित उक्त कार्यक्रम भव्य र व्यवस्थित रुपमा सम्पन्न भएको हो।

यस वर्ष मेरिल्याण्ड इङलिस् स्कुलका १६ जना विद्यार्थीले ग्रेड A प्लस र १५ जना विद्यार्थीले ग्रेड A हासिल गरी विद्यालयको शैक्षिक उपलब्धिलाई नयाँ उचाइमा पुर्याएका छन्। विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको समर्पित मार्गदर्शन र अभिभावकहरूको विश्वासयुक्त साथको समन्वयले यो सफलता सम्भव भएको हो। यो नतिजा केवल अंकको उपलब्धि होइन, मेरिल्याण्ड इङलिस् स्कुलको प्रतिबद्धता, शैक्षिक वातावरण र मूल्य–आधारित शिक्षण प्रक्रियाको प्रतिबिम्ब पनि हो, जसले विद्यालयलाई गोकर्णेश्वर क्षेत्रका उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बनाएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको गरिमामय उपस्थिति रहेको थियो । साथै, अति विशिष्ट अतिथिका रुपमा बरिष्ठ गीतकार एवं कवि श्रवण मुकारुङको गरिमामय उपथिति रहेको थियो । सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ र सगरमाथा आरोही तथा प्रहरी नायब निरीक्षक कुन्जाङ शेर्पा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । यसैगरी कार्यक्रममा वरिष्ठ पत्रकार एवं सञ्चार उद्यमी सगोत्री आचार्य र सामाजिक सञ्जालमा भाइरल शिक्षक होमराज पौडेल अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । अतिथिहरूले विद्यार्थीहरूको उत्कृष्ट नतिजा, विद्यालयको अनुशासित वातावरण र सुसंगठित कार्यक्रमको खुलेर प्रशंसा गर्दै विद्यालयको शैक्षिक भविष्य अझ उज्ज्वल हुने विश्वास व्यक्त गरेका थिए ।
प्रहरी नायब निरीक्षक कुन्जाङ शेर्पाले आफ्नो जीवन संघर्ष र सफलताको अनुभव साझा गर्दै विद्यार्थीसामु प्रेरणाको स्रोत बनेर प्रस्तुत हुनुभएको थियो। उहाँले समर्पण (dedication), प्रतिबद्धता (devotion) र अनुशासन (discipline) जीवनको मुख्य आधार भएको उल्लेख गर्दै, "कुनै पनि लक्ष्य प्राप्त गर्न मन, मिहिनेत र हिम्मत चाहिन्छ। तपाईंहरूमा अपार क्षमता छ, त्यसलाई चिन्नुहोस् र सही दिशामा अघि बढ्नुहोस्," भन्नुभयो। उहाँले कहिल्यै हार नमान्ने "never give up" सोचले नै आफूलाई सगरमाथाको चुचुरोसम्म पुर्याएको बताउँदै विद्यार्थीलाइ आफ्ना सपना पछ्याउन लगातार प्रयत्नशील रहन आग्रह गर्नुभयो। उहाँको प्रेरणादायी मन्तव्यले उपस्थित सम्पूर्णमा आत्मविश्वास र सकारात्मक ऊर्जा थपेको थियो।
विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएका वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङले “तिमी तारे भिर”, “माथि माथि शैलुङ्गैमा चौँरी डुलाउनेलाई” जस्ता दर्जनौँ कालजयी गीत तथा “बिसे नगर्चीको बयान” जस्ता प्रभावशाली कविताहरूका सर्जकको हैसियतले आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग साझा गर्नुभयो। उहाँले शिक्षा मात्र होइन, सिर्जनात्मक सोच र आत्मपरिचयको विकाससमेत आजको युगमा अत्यावश्यक रहेको बताउँदै भन्नुभयो, “शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण भए तापनि विद्यार्थीले आफैंभित्रको प्रतिभा चिन्न र त्यसलाई निखार्न सक्नु अझ आवश्यक छ।” उहाँको गम्भीर र गहकिलो मन्तव्यले विद्यार्थीहरूमा आत्मचिन्तन, आत्मविकास र अजेय प्रेरणाको भावनालाई बलियो बनाएको थियो।
विद्यालयका प्रधानाध्यापक झलकमान तामाङले शैक्षिक सफलतालाई केवल व्यक्तिगत उपलब्धि नभई शिक्षक, विद्यार्थी तथा अभिभावकबीचको पारस्परिक तथा समर्पित प्रयासको फलस्वरूप प्राप्त उपलव्धिका रुपमा व्याख्या गर्नुभएको छ। उहाँले सिकाइलाई एक दीर्घकालीन, निरन्तर चलिरहने प्रक्रियाका रूपमा हेर्नुका साथै यसलाई विद्यार्थीको समग्र विकास, बौद्धिक, नैतिक र सामाजिक पक्षहरूको सन्तुलित विकासमा केन्द्रित गर्नु आवश्यक ठान्नुहुन्छ। आध्यात्मिक चिन्तकका रुपमा समेत परिचित प्रधानाध्यापक तामाङको नेतृत्वमा, विद्यालयले शैक्षिक उत्कृष्टता मात्र नभई मानवीय मूल्य र चरित्र निर्माणलाई पनि प्राथमिकता दिएको छ। उहाँको दृष्टिकोणले आधुनिक शिक्षाशास्त्रमा आत्मसात गरिएको समग्र व्यक्तित्व विकासको अवधारणालाई व्यवहारिक रूपमा लागू गर्दै गुणस्तरीय शिक्षा प्रणालीको स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको छ। यो दृष्टिकोणले विद्यालयलाई शैक्षिक क्षेत्रका साथसाथै सामाजिक उत्तरदायित्वमा पनि एक आदर्श संस्थाको रूपमा उभ्याएको छ।
कार्यक्रममा कक्षा १० का विद्यार्थी लगायत विभिन्न कक्षाका बालबालिकाहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्यहरूले नेपाली लोकसंस्कृतिको समृद्ध परम्परा र सांस्कृतिक पहिचानलाई जीवित राख्ने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यी प्रस्तुतीहरूले विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा र आत्मविश्वासलाई प्रकट गर्दै सांस्कृतिक चेतना र सामाजिक एकताको भावना प्रवर्द्धन गरेका छन्। यस्ता सांस्कृतिक क्रियाकलापले शैक्षिक सिकाइलाई मात्र सीमित नराखी, विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विद्यालयको व्यापक शैक्षिक दृष्टिकोणलाई स्पष्ट रूपमा उजागर गर्दछन्।
सो अवसरले मेरिल्याण्ड इङलिस् स्कुलको शैक्षिक उपलब्धि मात्र नभई अतिरिक्त शैक्षिक क्रियाकलापमा देखाएको सक्रियता, समर्पण र समन्वयलाई पनि विशेष रूपमा उद्घाटित गरेको छ। विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको प्रतिबद्धता, अभिभावकहरूको सहयोग र प्रशासनको दूरदृष्टिले विद्यालयलाई गोकर्णेश्वर क्षेत्र मात्र नभई राष्ट्रिय राजधानी स्तरमा समेत एक प्रतिष्ठित र विश्वसनीय शैक्षिक संस्थाको रूपमा विकास गरिरहेको स्पष्ट संकेत गर्दछ। यसले समग्र शैक्षिक वातावरणलाई समृद्ध पार्दै विद्यालयको दीर्घकालीन प्रगतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
सहप्रधानाध्यापक अर्थ तामाङले सञ्चालन गर्नुभएको कार्यक्रम प्रस्तोताको मोहक र प्रविण प्रस्तुतीले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो। कार्यक्रमको व्यवस्थित सञ्चालन र आकर्षक प्रस्तुतीले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको थियो । साथै,कार्यक्रमको मिडिया सभरेज Mass Media International & Universal Television लगायत थुप्रै सञ्चार माध्यमले गरेका थिए जसले कार्यक्रमको सफलतालाई थप मान्यता र सम्मान दिलाएको थियो ।
