एमएमआई संवाददाता- ३० अंश सुधार गरिएको पात्रो र सावर्णि मन्वन्तरको आधारमा परेको यस वर्षको कुसे औँसीको पावन अवसरमा एक विशेष बाआमा सम्मान कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली संस्कार, वैदिक परम्परा र ज्येष्ठ नागरिकप्रतिको कृतज्ञता अभिव्यक्त गर्नका लागि यो सम्मान कार्यक्रम साउन ८ गते, बिहीवार, दिउँसो १२:३० बजे काठमाडौंको कलंकीस्थित कृपा भेन्युमा सम्पन्न हुने भएको हो। कार्यक्रमको मूल उद्देश्य नेपाली समाजमा अभिभावक र जेष्ठ नागरिकहरूको योगदानलाई सम्मान गर्दै, युवा पुस्तामा संस्कार र सद्भाव जगाउनु रहेको छ। ७५ वर्ष पुगेका जेष्ठ नागरिकहरूलाई विशेष रुपमा सम्मान गरिने जानकारी आयोजकहरूले दिएका छन्।
समारोह पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल, निरा गृहिणी समाज परिवार, ज्योतिष समाज नेपाल तथा विश्व पञ्चाङ्ग निर्णय संघको संयुक्त पहलमा आयोजना हुँदैछ। कार्यक्रममा वैदिक विधिअनुसार सम्मान अर्पण गर्ने, धार्मिक सन्देशमूलक मन्तव्य राख्ने र शास्त्रीय चिन्तनको आदानप्रदान हुने अपेक्षा गरिएको छ। साथै, परम्परागत ज्योतिषशास्त्रमा आधारित धर्म र समयबारे छलफलसमेत गरिने आयोजकहरूको भनाइ छ। परम्परा र आधुनिक सन्दर्भबीच समन्वय ल्याउने प्रयासस्वरूप यो कार्यक्रम एउटा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने थलो बन्ने आयोजकहरूको विश्वास छ।
यस विशेष समारोहमा हिन्दू युवा संयोजन अभियान नेपाल र अन्य धर्म-संस्कृति प्रेरित संस्थाहरूको समेत सक्रिय सहभागिता रहनेछ। आयोजकहरूले सम्पूर्ण आमन्त्रित अतिथि, सम्मानित ज्येष्ठ नागरिक, सम्बन्धित धर्मप्रेमी व्यक्तित्व तथा स्थानीय समुदायलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रुपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्। समारोहले नेपाली सामाजिक संरचना भित्रको श्रद्धा, सेवा र कदर गर्ने परम्परालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।